दिल्लीका कप्तान अय्यर घाइते!

काठमाडौं : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्सका कप्तान श्रेयस अय्यर घाइते भएका छन्।
उनी आज राजस्थानविरुद्ध फिल्डिङका क्रममा घाइते भएका हुन् । कप्तान अय्यर ४.६ ओभरमा रन रोक्ने क्रममा घाइते भएका हुन् । उनको काँधमा समस्या देखिएको छ ।
अय्यर चोटका कारण बाहिर गएसँगै तत्काललाई कप्तानीको जिम्मेवारी शिखर धवनलाई दिइएको छ ।
अय्यरको चोट कति गम्भीर छ भनेर दिल्लीले आधिकारिक जानकारी दिन बाँकी छ । उनको चोट गम्भीर नरहे पनि दिल्लीलाई असर पुग्ने देखिन्छ ।
अय्यरअघि अमित मिश्रा र इशान्त शर्मा चोटकै कारण लिगबाट बाहिरिएका छन् । साथै, ऋषभ पन्त पनि चोटकै कारण अहिले विश्राम गरिरहेका छन् ।
चलेन आज पनि स्थिमको ब्याट
दिल्ली क्यापिटल्सले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याइरहेको राजस्थान रोयल्सले दोस्रो विकेट गुमाएको छ ।
उसले दोस्रो विकेटका रूपमा कप्तान स्टिभ स्मिथलाई १ रनमा गुमाएको हो । उनलाई रविचन्द्रन आश्विनले आउट गरे ।
राजस्थानले पहिलो विकेटका रूपमा २.६ ओभरमा जोस बटलरलाई गुमाउन पुग्याे । उनी ९ बलमा २२ रन बनाएर आउट भए ।
बटलरलाई एनरिक नोर्खियाले बोल्ड आउट गरे । राजस्थानले सात ओभरको समाप्तिमा २ विकेट गुमाएर ५९ रन बनाएको छ ।
यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।
एसका लागि शिखर धवनले ५७, कप्तान श्रेयस अय्यरले ५३, मार्कस स्टोइनिसले १८ र एलेक्स क्यारीले १४ रन बनाए ।
बलिङमा राजस्थानका जोफ्रा आर्चरले ३, जयदेव उनादकटले २, श्रेयस गोपाल र कार्तिक त्यागीले एक/एक विकेट लिए ।
आठौँ म्याचमा पनि बेन्चमै सन्दीप
राजस्थानविरुद्ध पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भएका छन् । योसहित उनी लगातार आठौँ म्याचमा पनि प्लेइङ-११ मा मौका पाउन असफल भएका हुन् ।
आज पनि दिल्लीले मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्खिया र एलेक्स क्यारीलाई अन्तिम-११ मा मौका दिएको छ ।
राजस्थानविरुद्ध दिल्लीले एक खेलाडी परिवर्तन गरेको छ । उसले हर्षल पटेलको स्थानमा तुषार देशपाण्डेलाई मौका दिएको छ ।
One Comment