दोस्रो क्वालिफायर खेल्नुअघि स्टोइनिसले टिमलाई दिए यस्तो सल्लाह

काठमाडौंः यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद सामनेसामने हुँदैछन्।
यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। शेख जायद क्रिकेट स्टेडियममा दिल्ली र हैदराबाद जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदान उत्रने छन्।
हालसम्म आईपीएलको फाइनलमा पुग्न नसकेको दिल्ली हैदराबादविरुद्ध सकेसम्मको बल प्रयोग गर्नेछ। दिल्लीलाई आज पहिलोपटक फाइनल पुग्ने अवसर पनि छ। पहिलो क्वालिफायरमा मुम्बईविरुद्ध हारेको दिल्ली हैदराबादविरुद्ध गल्ती नदोहोर्याउने लक्ष्यमा हुनेछ।
जारी सिजनको लिग चरणमा दिल्लीले १४ मध्ये ८ खेलमा जित र ६ खेलमा हारको सामना गरेको थियो। दिल्ली १६ अंकका साथ शीर्ष दुईमा रहँदै क्वालिफायर वानमा प्रवेश गरेको थियो। तर, क्वालिफायर वानमा मुम्बई इण्डियन्सविरुद्ध पराजित भए पनि दिल्ली इलिमिनेटरमा विजेता बनेको हैदराबादसँग फेरि क्वालिफायर म्याच खेल्न लागेको हो।
हैदराबादले आईपीएल २०२० मा लिग चरणका १४ मध्ये समान सातमा हार र सातमा जित हासिल गरेको थियो। हैदराबाद १४ अंकका साथ प्लेअफमा प्रवेश गरेको थियो। इलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)लाई हराउँदै क्वालिफायर टुमा पुगेको हैदराबाद पछिल्लो समय लयमा देखिएको छ।
सुरुवात म्याचमा लय नदेखाएको हैदाबादले पछिल्ला चार खेलमा भने लगातार जित हासिल गरेको छ। लिग चरणका दुबै खेलमा हैदराबादविरुद्ध दिल्ली पराजित भएको थियो।
दिल्लीले सुरुवात म्याचमा राम्रो प्रदर्शन गरे पनि फाइनल पुग्ने बेला भने खराब लय देखाएको छ। उसले पछिल्ला ६ खेलमध्ये एक म्याचमा मात्र जित हासिल गर्न सफल भएको छ।
आजको खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ। फाइनलमा मुम्बई इण्डियन्ससँग भिड्नेछ। यस खेलमा पराजित हुने टिम भने बाहिरिनेछ। त्यसैले दुई टिमबीचको खेल निकै रोमान्चक हुने अनुमान गरिएको छ।
दिल्ली पहिलो क्वालिफायरमा मुम्बईसँग ५७ रनले पराजित भएको थियो। तर, आईपीएलको नियम अनुसार दिल्लीले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो।
श्रेयस अय्यरको कप्तानीमा रहेको दिल्ली हैदराबादलाई हराउँदै पुनः मुम्बईसँगको भेट पक्का गर्न चाहन्छ। तर, दिल्लीलाई हैदराबादविरुद्ध जित निकाल्न सहज हुने छैन।
डेविड वार्नरको कप्तानीमा रहेको हैदराबाद पनि दिल्लीलाई हराएर फाइनल पुग्न चाहन्छ। दिल्लीविरुद्ध हैदराबादको अघिल्ला नतिजा समेत राम्रो छ। लिग चरणको दुबै खेलमा हैदराबादले दिल्लीलाई हराएको थियो।
लिग चरणको पहिलो भेटमा हैदराबादले दिल्लीलाई १५ रनले हराएको थियो। दोस्रो भेटमा हैदराबादले ८८ रनको जित निकालेको थियो।
यसैबीच दिल्लीका अलराउण्डर मार्कस स्टोइनिसले दोस्रो क्वालिफायरमा आफ्नो टोलीलाई निडर भई खेल्ने सल्लाह दिएका छन्।
खेल हुनअघिको एक प्रेस मिटमा स्टोइनीसले भने, ‘यस टुर्नामेन्टमा अधिकांश टोलीहरूको प्रदर्शन तल र माथि हुन्छ नै। तर, सिजनको सुरुमा राम्रो प्रदर्शन पछि हामीले दोस्रो चरणको साथ लिग चरण सक्यौं। हामीसँग एउटा खेल छ र यसलाई जितेर हामी फाइनलमा पुग्नेछौं। मलाई लाग्छ कि हामी निर्भयसँग खेल्नु पर्छ र यो हाम्रो लागि राम्रो हुनेछ।’
यो सिजनमा स्टोइनिसले राम्रो प्रदर्शन गरिरहेका छन्। उनले ३१४ रन रन बनाएका छन्। यसका साथै उनले ९ विकेट पनि लिएका छन्।
‘रन बनाउनु सँधै राम्रो हुन्छ, तर टोलीले जित्यो भने यो अझ राम्रो हुन्छ। त्यसैले म आशा गर्दछु तर जब तपाई जित्नुहुन्छ भने यो टीमको लागि सधैं उत्तम हुन्छ।’ उनले भने, ‘त्यसैले आशा गर्छु कि म त्यो सबै गर्न सक्छु। म जे गर्न सक्दछु। आशा छ हामी आज विजय हुनेछौँ।’