बीबीएल : यस्तो छ सन्दीपआवद्ध होबार्टको टिम (नामसहित)

काठमाडौंः नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–२० क्रिकेट होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन्।
होबार्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए। सम्झौता रकम भने उनले खुलाउन चाहेनन्। सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्।
यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए। उनले दुवै सिजनमा गरी बीबीएलमा २० खेल खेल्दै २६ विकेट लिएका थिए।
गत संस्करणमा सन्दीपको उत्कृष्ट प्रदर्शनकै कारण मेलबर्न फाइनलमा पुगेको थियो। बीबीएलका लागि होबर्टमा सामेल हुन पाउँदा सम्मान महसुस गरेको सन्दीपले प्रतिक्रिया दिएका छन्।
अष्ट्रेलियामा आफूले सधैँ माया र सम्मान पाएको उनको भनाइ छ। इन्डियन प्रिमियर लिग (आईपीएल) बाट फर्किएका उनी हाल चितवनस्थित घरमा रहेका छन्। यस पटकको आईपीएलमा उनले कुनै पनि खेल खेल्न पाएनन्।
यस्तै, होबार्टका मुख्य प्रशिक्षक एडम ग्रिफ्टले सन्दीपको अगमनले टिमको बलिङ पक्ष थप बलियो भएको बताए।
सन्दीपमा जहिले पनि रहस्यमय स्पिनको साथ खेल परिवर्तन गर्नसक्ने खुबी भएको र इनिङ्सको कुनै पनि चरणमा बलिङ गर्न सक्ने उनको भनाइ छ। सन्दीप ‘विकेट टेकर’ भएकाले बलिङमा अर्को आयाम थपिने प्रशिक्षक ग्रिफ्टले उल्लेख गरे।
नयाँ सिजनको बीबीएल आगामी १० डिसेम्बर अर्थात् २५ मंसिरदेखि सुरु हुनेछ। यस सिजनमा हरेक टिमले तीन विदेशी खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन्।
यसअघि बीबीएलमा दुई विदेशी खेलाडीलाई मात्र राख्न पाइने नियम थियो। उद्घाटन म्याचमा होबार्ट र सिड्नी सिक्सर्स खेल्ने छन्। सिक्सर्स गत सिजनको विजेता टिम पनि हो।
यस्तो छ होबार्टको पूर्ण टिमः सक्ट बोल्यान्ड, टिम डेविड, जेक डोरन, नेथन एलिस, जेम्स फल्क्नर, पीटर ह्यान्ड्सकम्ब, बेन मक्डरमट, राइली मेरेडिथ, डेविड मुडी, मिचेल ओवेन, टिम पेन, विल परकर, डार्सी सर्ट, म्याथ्यु वेड, निक विन्टर, म्याक राइट
विदेशी खेलाडी: डेविड मालन, सन्दीप लामिछाने, कीमो पउल
वैकल्पिक विदेशी: विल ज्याक्स, कोलिन इन्ग्राम।