डेल स्टेनले लंका प्रिमियर लिग खेल्ने

काठमाडौंः दक्षिण अफ्रिकाका तीव्रगतिका बलर डेल स्टेनले श्रीलंकाको लंका प्रिमियर लिग (एलपीएल) खेल्ने भएका छन्।
३७ वर्षीय स्टेनले क्यान्डी टस्कर्सबाट एलपीएल खेल्ने भएका हुन्। एलपीएलको फ्रेन्चाईज टिम टस्कर्सले स्टेनलाई अनुबन्धित गरिएको जनाएको छ।
पाकिस्तानी बलर सोहेल तानवीरलाई कोरोना भाइरसको संक्रमण देखिएपछि टस्कर्सले स्टेनलाई अनुबन्ध गरेको बताइएको छ।
यस्तै टस्कर्सका ब्याट्सम्यान क्रिस गेलले हालै टिमबाट नाम फिर्ता लिएका थिए। गेलले व्यक्तिगत कारण देखाउँदै श्रीलंका भ्रमण गर्न नसक्ने जनाएका थिए।
लंका प्रिमियर लिग २७ नोभेम्बरदेखि १७ डिसेम्बरसम्म संचालन हुनेछ। लिगमा कोलोम्बो किंग्स, दाम्बुला हक्स, गाले ग्ल्याडीएटर्स, जाफ्ना स्टालियन्स र क्यान्डी टस्कर्स गरी ५ टिमहरू सहभागी रहेका छन्। यो लिगमा कूल २३ म्याच हुने छन्।
यो लिगमा नेपाली क्रिकेटर सन्दीप लामिछाने र सुमन गौतमले पनि खेल्ने चर्चा थियो। तर, उनीहरूलाई ड्राफ्टबाट कुनै पनि टिमले अनुबन्ध गरेनन्।