राहुलको टिममाथि नायडू–११ को जित, विराटको शानदार ब्याटिङ

काठमाडौं: अष्ट्रेलियासँगको सिरिजअघि भारतीय क्रिकेट टिम अहिले अभ्यासमा व्यस्त छ । अभ्यासका क्रममा भारतीय टिमले दुई समूह बनाएर म्याच खेलेको छ ।
अभ्यासका क्रममा विराट कोहली र केएल राहुलको टिम बनाइएको थियो । विराटको टिमको नाम सीके नायडू र राहुलको टिमको नाम रणजीतसिंह इलावेन राखिएको थियो ।
सो अभ्यास म्याचमा राहुलको टिमविरुद्ध विराट नेतृत्वको सीके नायडू ५ विकेटले विजयी भएको छ । वर्षाका कारण खेल ४०/४० ओभरमा झारिएको थियो । पहिला ब्याटिङ गर्दै राहुलको टिमले २३५ रन बनाएको थियो ।
सो इनिङ्समा राहुलले ६६ बलमा ८३ रन बनाएका थिए । पृथ्वी शा र शुभमन गिलले विराटको टिममा ओपनिङ ब्याट्सम्यानको भूमिका निर्वाह गरेका थिए ।
विराटले शानदार प्रदर्शन गरेपछि सीके नायडू टिम २६ बल बाँकी रहँदै विजयी भएको थियो । सो म्याचमा विराटले ५८ बलमा ९१ रन बनाए ।
राहुल र विराटको टीमबीचको म्याच सिड्नीमा भएको हो । भारतले अष्ट्रेलियासँगको सिरिज २७ नोभेम्बरदेखि खेल्दैछ ।
भारतले २७ देखि २ डिसेम्बरसम्म वानडे, चारदेखि आठ डिसेम्बरसम्म तीन खेलकै टी-२० र १७ डिसेम्बरदेखि १९ जनवरीसम्म चार म्याचको टेष्ट सिरिज खेल्ने छ ।