सन्दीप बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने

काठमाडौंः नेपाली लेगस्पिनर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा सहभागी भएर अष्ट्रेलिया जाने भएका छन्।
अष्ट्रेलियाको बिग बास लिगमा सहभागिता जनाउन जानुअघि सन्दीप राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा बस्ने भएका हुन्।
राष्ट्रिय टोलीको क्याम्पमा करिब १० दिन सहभागी भएर सन्दीप अष्ट्रेलिया जाने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए।
उनका अनुसार सन्दीप डिसेम्बरको १४–१५ मा अष्ट्रेलिया जाने छन्। तर, मिती भने एकिन भइसकेको छैन।
सन्दीप सोमबार बेलुका बन्द प्रशिक्षणको लागि काठमाडौं आइपुग्ने सिवाकोटीले बताए। सन्दीपले आसन्न बिग बास लिगमा होबार्ट हरिकेन्सबाट खेल्दै छन्।
यसअघि सन्दीपले मेलबर्न स्टार्सबाट दुई सिजन खेलेका थिए। सन्दीपले हालसम्म बीबीएलमा २० इनिङ्समा २६ विकेट लिएका छन्।
नेपाल क्रिकेट संघ (क्यान)ले बुधबारबाट टिमको बन्द प्रशिक्षण सुरु गर्दैछ। क्यानले आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरुलाई मध्यनजर गर्दै क्रिकेट टोलीको प्रशिक्षण सुरु गर्न लागेको हो।