आबुधाबीको शानदार जित, डेब्यू म्याचमा कुशलको राम्रो प्रदर्शन

काठमाडौंः टिम आबुधाबी यूएईमा जारी टी–१० लिग क्रिकेट प्रतियोगितमा तेस्रो भएको छ। आजको भएको खेलमा कलन्दर्सलाई २१ रनले हराउँदै आबुधाबी तेस्रो भएको हो।

आबुधाबीले दिएको एक सय २५ रनको लक्ष्य पछ्याएको कलन्दर्सले निर्धारित १० ओभरमा पाँच विकेट गुमाएर मात्र १०३ रन बनाउन सक्यो।

उसका लागि डानियल बेल ड्रममन्डले ४६, कप्तान सोहेल अख्तरले १७, बेन डंकले १३ रन बनाउँदा अहमद डानियाल र सोहेल तनवीर ९–९ रनमा अविजित रहे।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

बलिङमा रोहन मुस्तफाले २, जेमी ओभरटन, पलानियापान मेयाप्पन र ओबेद म्याकोयले १–१ विकेट लिए।

आबुधाबीमा आवद्ध नेपाली क्रिकेट टिमका अलराउन्डर कुशल मल्लले बलिङ गर्न पाएनन्।

त्यसअघि टस हारेर पहिला ब्याटिङको मौका पाएको आबुधाबीले निर्धारित १० ओभरमा ६ विकेट गुमाएर एक सय २४ रन बनाएको थियो।

उसका लागि नजीबुल्लाह जदरानले शानदार ब्याटिङ गरे। उनले १६ बलमा पाँच चौका र दुई छक्कासहित अविजित ४५ रन बनाए।

यस्तै, पल स्टर्लिङले २६, लियोनार्डो जुलियनले १९, कुशल मल्लले १८, बेन डकेटले ७ रनको योगदान दिए।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मल्लले १२ बलमा एक चौका र एक छक्कासहित १८ रन बनाएका हुन्। मल्ललाई मोहम्मद जाहिदले क्लिन बोल्ड गरेका हुन्।

बलिङमा मोहम्मद जाहिदले २, अहमद डानियाल, अली खान, सोहेल तन्वीर र खुर्शीद अन्वरले एक–एक विकेट लिए।

कुशलको यो डेब्यू म्याच हो। टी–१० लिग डेब्यूसँगै कुशलले नेपालका लागि इतिहास रच्ने छन्। उनले कम उमेरमा विदेशी लिगमा डेब्यू गर्ने नेपाली खेलाडी बन्दै इतिहास रचेका हुन्।

कुशलको उमेर अहिले १६ वर्ष छ। हालसम्म नेपालमा कम उमेरमा विदेशी लिग खेल्ने नेपाली क्रिकेटरको कीर्तिमान लेगस्पिनर सन्दीप लामिछानेको नाममा छ। उनले १२ मे २०१८ मा दिल्ली डेयरडेविल्सबाट खेल्दै आईपीएल डेब्यू गरेका थिए।

सन्दीपले १७ वर्षको उमेरमा आईपीएल डेब्यू गरेका थिए। डेब्यू म्याचमा उनले रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्ध चार ओभरमा २५ रन दिएर महत्वपूर्ण एक विकेट लिएका थिए।

आज कलन्दर्सविरुद्ध डेब्यू गरेसँगै सन्दीपको नाममा रहेको कम उमेरमा विदेशी लिग डेब्यू गर्ने खेलाडीको कीर्तिमान कुशलले आफ्नो नाममा गरेका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker