सरकारको व्यवहारले धुर्मुस निराश, कति सकियो रंगशालाको काम?

काठमाडौं: केही समयअगाडि सीताराम कट्टेल (धुर्मुस)ले टुहुरोजस्तो भएको आफूले अभिभावक भेटेको महसुस गरेको बताएका थिए । उनले यसो भन्नुको कारण थियो, उपप्रधानमन्त्री ईश्वर पोखरेलले उनलाई बोलाएर चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाबारे सोधखोज गरेका थिए ।

उनले उक्त रंगशाला निर्माणका क्रममा सीतारामले भोगिरहेका समस्या र चुनौतीबारे जिज्ञासा राखेका थिए । वृतान्त सुनाएर सीतारामले सरकारको सहयोगको खाँचो रहेको र अपेक्षा गरेको बताएका थिए । मन्त्री पोखरेलले आफैँले बोलाएर रंगशालाबारे सोधखोज गर्नु र आफ्नो आग्रहमा सकारात्मक रहेको बताउनुलाई सीतारामले सरकारले सहयोग गर्ने संकेतका रुपमा बुझेका थिए । त्यसैले उनले भनेका थिए– टुहुरोजस्तो थिएँ, आज अभिभावक भेटेको महसुस गरिरहेको छु ।

उपप्रधानमन्त्रीले बोलाएको केही समयपछि सरकारले आगामी आर्थिक वर्षको वार्षिक आय–व्यय (बजेट) प्रस्तुत गर्दै थियो । सीतारामले आशा गरेका थिए, यो वर्षको बजेटले नै निर्माणाधीन रंगशालालाई सहयोग गर्न सम्बोधन गर्नेछ । उनले यो अपेक्षा राख्नु अनुचित पनि थिएन । किनकि, उपप्रधानमन्त्रीले नै बोलाएर समस्या के–के छन् भनेर सोधेका थिए । खेलकुद र अर्थमन्त्रीसँग भने उनले सहयोगका लागि आग्रह गरेका थिए । राष्ट्रिय खेलकुद परिषद्लाई पनि समन्वयनात्मक भूमिका निर्वाह गरिदिन आग्रह गरेका थिए ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

संविधानले तोकेकै समयमा जेठ १५ गते बजेट भाषण पनि भयो । सीतारामले बडो व्यग्रताका साथ निर्माणाधीन रंगशालालाई सहयोगका लागि बजेट विनियोजनको अपेक्षा गर्दै बजेट भाषण सुने । विडम्बना ! बजेट वक्तव्य सकियो । तर, उनको अपेक्षा सरकारले केवल अपेक्षामै सीमित पारिदियो ।

“मलाई यो वर्ष सरकारले बजेटमार्फत सहयोग गर्छ भन्ने अपेक्षा थियो । उपप्रधानमन्त्री आफैँले के–कसो छ भनेर बोलाउनुभएको पनि थियो । उहाँ मैले गरेको सहयोगको आग्रहप्रति सकारात्मक पनि हुनुहुन्थ्यो । तर, बजेटमा सहयोगको कुरा समेटिएन,” सीताराम भन्छन्, “उपप्रधानमन्त्री मात्रै होइन, अर्थ, परराष्ट्र र खेलकुदमन्त्रीलाई सरकारको नीति तथा कार्यक्रममा राखिदिनुस्, एक वर्षभित्र संरचना पूर्ण गर्छु भनेर पनि भनेको थिएँ । योपटक सरकारले सहयोग गर्नेछ भन्ने ठूलो आशा थियो । तर, भएन ।”

शीर्षकमा मात्रै समावेश गरिदिएको भए पनि आफूलाई ऊर्जा मिल्ने उनी बताउँछन् । रंगशाला निर्माणका क्रममा उनका नाममा १५ करोड रुपैयाँ ऋण लागिसक्यो । जारी निषेधाज्ञामा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्थानीय निकायले जारी गरेको जनस्वास्थ्यको मापदण्डभित्र अपनाएर १०७ जना कामदारले रंगशाला निर्माणको काम भइरहेको छ । जतिजति रंगशालाको काम अघि बढ्दै छ, त्यति–त्यति सीतारामको थाप्लोमा ऋणको बोज थपिँदै छ । तर, सरकारले गरेको नजरअन्दाजप्रति उनी स्वयं अचम्मित छन् ।

राष्ट्रका खेलाडीले खेल्ने अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण भइरहेको छ । निर्माण सम्पन्न भएपछि खेल्ने खेलाडीले नै हो । रंगशाला सरकारकै हो । तर, सरकार बारम्बार सहयोगका लागि अनुनयविनय गर्दा पनि, अपनत्व लिइदेऊ भन्दा पनि किन पन्छिरहेको छ ? उनले बुझ्न सकेका छैनन् ।

अक्सर ठूलो परिमाणमा सहयोग गरिरहेका प्रवासी नेपालीहरु कोभिड–१९ का कारण आफैँ अफ्ठ्यारोमा परेपछि सहयोग रकम आउने क्रम कम भयो । यसको असर सीतारामको ऋण थपिने क्रम बढ्यो । अनेक उपाय खोजिरहेका उनले सहयोग जुटाउन मेची–महाकाली अभियान सुरु गरे । तर, त्यही बेला एकातिर कोरोना संक्रमणको ग्राफ उकालो लाग्यो भने रंगशाला निर्माणबारे अनेकन भ्रम सिर्जना गरियो । परिणामः मेची–महाकाली अभियान अपेक्षित सफल हुन सकेन ।

तर पनि रंगशाला निर्माणकार्यलाई सीतारामले रोकेका छैनन् । अहिले उनले पिच निर्माण र दुबो हाल्ने काम सुरु गरेका छन् ।

रंगशालाको जम्मा क्षेत्रफल १७ हजार ६६२.५ स्क्वायर मिटर रहेको छ । यसमध्ये साढे दुई कट्ठा पिचको क्षेत्रफल रहनेछ भने आउटफिल्डमा दुबो लगाउन सुरु गरिएको हो । “३० जना कामदारले दैनिक दुबो लगाइरहेकाले एक हप्तामा दुबो लगाउने काम सकिन्छ। पिचको काम भने सकिन केही समय लाग्ने छ,” सीताराम भन्छन् ।

आउटफिल्डमा बरमुडा दुबो लगाउने काम भइरहेको छ, यो चितवनको तापक्रम सुहाउनेछ । रंगशाला निर्माणको सुरुदेखि नै यो दुबोको नर्सरी लगाएर तयार पारिएको थियो । “बाहिरबाट ल्यााएर रोप्दा यहाँको टेम्प्रेचरमा राम्रोसँग नफस्टाउने भएकाले हामीले सुरुमै यहीँ आफ्नै नर्सरी खडा गरेर दुबो तयार पारिरहेका थियौँ । त्यही दुबो अहिले आउटफिल्डमा लगाइरहेका छौँ,” सीताराम भन्छन्, “विज्ञहरुसँग परामर्श गरेर हामीले यो का गरेका हौँ । एसीसीको डेभलपमेन्ट मेनेजरले यो ग्राउन्ड हेरिरहनुभएको छ । नमुना क्रिकेट खेल मैदानमा पनि हामीले यही दुबो प्रयोग गरेपछि व्यावहारिक रुपमै सफल भएपछि यसैलाई आउटफिल्डमा पनि प्रयोग गरिरहेका हौँ ।”

३० हजार दर्शक क्षमताको रंगशालामा चरणबद्ध कार्यक्रमअन्तर्गत तीन हजार दर्शक क्षमताको प्यारापिट निर्माणकार्य सकिसकेको छ । यो फस्ट प्यारापिट हो । यसमाथिको अर्को प्यारापिट बनाउन ठूलो परिमाणमा रड चाहिन्छ । जसका लागि बजेट अभाव रहेको सीताराम बताउँछन् ।

“हामीलाई कम्पनीले विश्वास गरेर डन्डी दिएअनुसार हामीले टावर वानको काम गरिरहेका छौँ । अन्तर्राष्ट्रिय मापदण्डमा कति पनि सम्झौता नगरी काम गरिरहेका छौँ । यसमा कति सानो–सानो कुरामा ध्यान दिनुपर्छ, त्यो काम सुरु गरेपछि मात्रै थाहा हुन्छ,” उनी भन्छन्, “ग्राउन्ड झट्ट हेर्दा सम्म ठाउँमा दुबो त होला नि भन्ने लाग्छ । तर, यसमा पाँगो माटो, बालुवाको मात्रा, आउटफिल्डमा रहेको सबै जमिनको चार फिट माटो निकालेर मापदण्डअनुसारको माटो हालेर दुबो रोप्ने चरणमा आइपुगेका हौँ । प्यारापिट र ग्राउन्ड दुवै कामसँगसँगै गरेकाले यति चाँडै काम सम्भव भएको हो ।”

जस्तोसुकै परिस्थितिमा पनि आफू विचलित नभई अटल भएर काम गरिरहेको बताउँदै उनी भन्छन्, “राष्ट्रले नै गौरव गर्ने परियोजना बनाइरहेको छु । सरकारले एक न एक दिन त कसो सहयोग नगर्ला र ?” यो समाचार बाह्रखरीबाट साभार गरिएको हो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker